समाचार
Flash News
आर्थिक पक्ष तथा शिक्षा र रोजगार
यो गाउँपालिकाको प्रमुख पेशा कृषि भएतापनि विस्तारै युवा वैदेशिक रोजगारमा जाने प्रवृत्ति र उत्पादनको तुलनामा लागत बढ्नाले यो पेशा प्रति आकर्षणको सट्टा विकर्षण बढ्दै छ । स्थानीय उत्पादनले यहाँका बासिन्दालाई मुस्किलले ६ महिना धान्न सक्छ । कृषि उत्पादनमा मकै, धान, कोदो, गहुँ, फापर हुन् । अन्य बालीमा मास, भटमास, गहत, बोडी, केराउ, आलु, पिडालु, तोरी, उंखु, अदुवा र बेसार हुन् । फलफुलमा लेक तर्फ सुन्तला, कागती, अमिलो (निम्बु) र बेसीमा केरा, आँप, कटहर, मेवा, आम्बा, नासपती, लिची आदि हुन् । यी फलफुलमध्ये सुन्तला बिक्रि हुन्छ भने अरु घरायसी प्रयोगका लागि सिमित हुन्छ । यहाँ उत्पादित वस्तु मध्ये मुख्य रुपमा अदुवा, मास, बोडी, भटमास, सुन्तला, पिडालु, बेसारका साथै स्थानीय जातका खसी, कुखुरा, घ्यू उत्पादन भएपनि औद्योगिक उत्पादनको लागि पूर्वाधार विकासमा जोड दिनु पर्नेछ । यहाँको मुख्य आयआर्जन माथि उल्लेखित कृषि जन्य वस्तु अम्रिसोबाट बनेका वस्तु निर्यातका साथै देश र विदेशमा रोजगारका लागि जाने युवाहरुको कमाई मुख्य स्रोत हो । खाद्य लगायत लत्ता, कपडा र निर्माण सामग्री आपूर्तिका लागि रेमिटान्सले धानेको छ । त्यसैले वैदेशिक रोजगारबाट आउने रकम नै जीवन धान्ने साहारा बनेको छ ।
२०१७ सालबाट मात्र औपचारिक शिक्षा सुरु भएको यस क्षेत्रमा ३०/४० को दशक सम्म आश जगाउने शैक्षिक वातावरण भएपनि पछि आएर उत्साहजनक छैन । केहि विद्यालयमा आशा जगाउने प्रयास अध्यावधि जारी छ । रोजगारको लागि स्थानीय स्तरमा उपयुक्त वातावरण नहुनाले देश भित्र कै क्षेत्रमा भारत लगायत मलेसिया, जापान, अस्ट्रेलिया, अरबी मुलुक साथै युरोप र अमेरिका समेत जाने क्रम जारी छ । यसरी रोजगारमा जाने मध्ये सुरुमा ब्रिटिश र भारतीय सेनामा सिमित भएकोमा पछिल्लो दिनमा बहुराष्ट्रिय आयामिक कम्पनी र घरेलु कार्यमा पनि जाने चलन छ । शिक्षा र रोजगारीका लागि विदेश जाने क्रम बढ्दो रुपमा छ ।