समाचार
Flash News
सामाजिक, संस्कृतिक र रितिरिवाज
१५७३४ जनसंख्या रहेको यो गाउँपालिकामा पनि देशको अन्य क्षेत्रमा जस्तै बहुल जाति, धर्म र संस्कृतिको बस्ति छ । ६०% भन्दा बढी मगर जातिको बसोबास रहेको यो गाउँपालिकामा कामी, दमाई, क्षेत्री, बाहुन, नेवार, दराई, सार्की, गुरुङ, घर्ति, ठकुरी, कुंवर, भाट र कुमालको मिश्रित र जातिगत पृथक बस्तीहरु छन् । जातीय तथा धार्मिक सहिष्णुता र सदभाब यहाँको विशेषता रही आएको छ । आ-आफ्नो जति, संस्कृति अनुसार हुने विवाहको अतिरिक्त अन्तर जातीय विवाह समेत स्वीकार्य छ । छुवाछुत प्रथा पनि हट्दै गएको छ । यहाँ बोलिने भाषामा नेपालीका साथै मगर, नेवार, दराई, गुरुङ समुदायमा मातृभाषा पनि प्रचलनमा छ । हिन्दु धर्मको बाहुल्यता रहेको यस क्षेत्रमा मठ, मन्दिर, शिला, भूमि, वृक्ष र जलमा परमेश्वोरको आराधना र पुजा हुन्छ । पछिल्ला दिनमा क्रिस्चियन धर्मको चर्चहरु पनि फाटफुट रुपमा हुदै छ । मगर जातिले बौद्ध धर्म प्रति विशेष आस्था जनाए पनि बौद्ध गुम्बा बनेको छैन । परम्परादेखि आ-आफ्ना जातीय संस्कृति अनुसार घाटु, सोरठी, वालन, मालसोरी लोप हुदै लागेपनि पन्चेबाजा, कौरा, झ्याउरे, चुड्का आदिले अस्तित्व सम्म धान्दै आएको छ । आधुनिक प्रविधिको प्रयोगले विगतको संस्कृतिलाई किनारा लगाउने क्रम यो क्षेत्रमा पनि अन्यत्र जस्तै छ ।
चाडपर्वमा साउने सक्रान्ति, नागपंचमी, जनैपुर्णिमा, कृष्ण जन्माष्टमी, हरितालिका तीज, वडादशैं, दीपावली (तिहार), पन्ध्र पुष, माघेसक्रान्ति, चैते दशैं (रामनवमी), गुजेरी पुर्णिमा, नववर्ष सक्रान्ति, चण्डी पुर्णिमा, बुद्धजयन्ति यस क्षेत्रमा मनाइने जातिगत र सामुहिक चाडपर्व हुन् । ऐतिहासिक धरोहर तथा सम्पदाको रुपमा डेढगाउँ देवीस्थान (अकलादेवी) यस क्षेत्रकै प्रसिद्ध मन्दिर हो भने बालीघाट जनक आश्रम, बटाङ दुर्गाभवानी, मौलाहरु आदि श्रद्धा र आस्थाका केन्द्र हुन् ।